Saturday, October 24For your kind information
Shadow

मान्छे एउटै हुँ, तर भूमिका दुईवटा छन् – प्रचण्ड

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष प्रचण्डले आफू एउटै मान्छे भएता पनि भूमिका चाहिँ दुईवटा रहेको बताएका छन् । अहिले आफूलाई प्रचण्डबाट ‘पुष्पकमल दाहाल’ बनाउने प्रयास भइरहेको उनले बताएका छन् ।

बुधबार राष्ट्रिय नाचघर जमलमा आयोजित यलम्बर सांस्कृतिक सम्मान कार्यक्रममा बोल्दै प्रचण्डले भने, ‘मलाई प्रचण्डभन्दा म सिंगै नेपालको छोरोजस्तो लाग्छ । ‘तर, मलाई पुष्पकमल दाहाल मात्रै भन्यो भने कहीँ न कहीँ फेरि पुरानै राज्यतिर, पुरानै समाजतिर, पुरानै संस्कृतितिर, पुरानै परम्परातिर फर्काउन बल गरिएको जस्तो महसुस हुन्छ ।’
प्रचण्डले पहिचानको लडाइँ अझै बाँकी रहेको र उत्पीडित जातिले अझैसम्म समान अधिकार पाइ नसकेको बताएका छन् ।

किराती समुदायमा प्रचण्डले गरेको भाषणको सार संक्षेप यस्तो छ-

यो लडाइँ निकै लामो लडाइँ पनि हो र यो लडाइँ लड्ने क्रममा अहिले पनि हामी सम्पूर्णरुपले अधिकारसम्पन्न भइसकेका छैनौं । उत्पीडित वर्ग, उत्पीडित क्षेत्र, उत्पीडित जाति, लिंग समुदाय अहिले पनि सम्पूर्ण रुपले पहिचानयुक्त, अधिकारयुक्त भइसकेको स्थिति छैन । त्यसकारण हाम्रो लडाइँ फेरि पनि जारी छ । शान्तिपूर्ण ढंगले, राजनीतिक तवरले फेरि पनि त्यो प्रक्रिया जारी छ ।

लडाइँ हामीले जितेकै हो, तर युद्ध जित्न बाँकी छ । म अहिले सबै कुरा त भन्न सक्दिनँ, समयको कारणले पनि र परिस्थितिको कारणले पनि । मैले धेरै कुरा बोल्नु अहिले त्यत्ति उचित पनि छैन । म बोल्न पनि सक्दिनँ । तर, यो धेरै मार्मिक कुरा छ ।

फेरि पनि हाम्रो अभियान टुंगिएको छैन । हाम्रो यात्रा टुंगिएको छैन । हाम्रो मिसन पूरा भएको छैन । हाम्रो टार्जेट प्राप्त भइसकेको छैन । त्यसकारण हामीले हाम्रो वैचारिक आस्थालाई, हाम्रो राजनीतिक मिसनलाई र हाम्रो सांस्कृतिक अभियानलाई निरन्तर जारी राख्नुपर्ने हुन्छ ।

मलाई प्रचण्डभन्दा म सिंगै नेपालको छोरोजस्तो लाग्छ । सबै जातजाति, क्षेत्र, लिंग, समुदाय उत्पीडनमा परेका सबै को पहिचान, सबैको अधिकार, न्याय, समानता र सबैको स्वतन्त्रताका निम्ति लडेको एउटा योद्धाको अनुभूति र गौरब हुन्छ । मलाई पुष्पकमल दाहाल भन्दा एउटा जाति विशेषको असाध्यै सीमित र संकीर्ण घेराभित्रको पारिएको जस्तो महसुस हुन्छ । यो मैले धेरैपटक नेपाली जनताको सामु भनेको छु ।

मलाई कसैले प्रचण्ड भन्यो भने गर्ववोध पनि हुन्छ । यसमा मेरो असली भूमिका र जिम्मेवारीलाई उधृत गरिएको छ । मलाई पुष्पकमल दाहाल मात्रै भन्यो भने कहीँ न कहीँ फेरि पुरानै राज्यतिर, पुरानै समाजतिर, पुरानै संस्कृतितिर, पुरानै परम्परातिर फर्काउन बल गरिएको जस्तो महसुस हुन्छ । यद्यपि त्यो मान्छे म एउटै हो ।

एउटै मान्छे हुँदाहुँदै पनि भूमिका दुईवटा छन् । त्यसले दिने अर्थ दुईटा छन् । त्यसकारण मलाई प्रचण्डका रुपमा नै… चाहे मधेसी होस्, चाहे आदिवासी जनजाति होस्, दलित होस्, महिला होस्, मुस्लिम होस्, जसका निम्ति भनेर मैले संघर्ष गर्ने अवसर प्राप्त गरें, जसका निम्ति मलाई नेपाली जनताले अगाडि सार्‍यो ।

पुरानो र नयाँको लडाइँ टुंगिएको छैन । पुरानो संस्कार संस्कृति र राज्य सञ्चालन गर्नेहरुले मलाई पुष्पकमल दाहालभन्दा बढी एक शब्द पनि हुन दिन चाहेका छैनन् । तर, अरु सबैले मलाई फेरि प्रचण्डकै रुपमा अगाडि बढोस् भनेर चाहेका छन् । र, त्यो दबाव मेरो दिमागमा सधैं रही नै राखेको छ । र, त्यो वोध गहिरो गरी मलाई हुने गरेकै छ ।

किरातीहरुलाई एउटा जातमात्रै अथवा एउटा जातिमात्रै भनेर बुझ्नु गल्ती हुन्छ । मेरो बहस अहिले पनि निकै गहिरो गरी जारी छ । मेरो भाषा, मेरो भावलाई यहाँहरुले बुझिदिनु होला । निकै नै गहिरो गरी जारी छ ।

किराती एउटा सभ्यता हो, किराती एउटा संस्कृति हो । किराती नेपाल हो । किरातीविना अहिलेको काठमाडौं कल्पना पनि गर्न सकिँदैन । किराती भन्दा साम्प्रदायिकताको गन्ध देख्नु त्यो भयानक दृष्टिदोष मात्रै होइन, यथार्थप्रति गरिने निकै ठूलो भूल पनि हो भन्ने मलाई लाग्छ । त्यसो गर्न हुँदैन ।

यलम्बर निश्चय पनि किरातीहरुका एउटा महानायककै रुपमा थिए । उनले खाली किरातीहरुका लागिमात्रै होइन, नेपाल राष्ट्रको सभ्यता, नेपाल राष्ट्रको शासन प्रणाली, नेपालको एउटा सांस्कृतिक अभियान सबैमा उनको योगदान नभइकन आजको नेपाल परिकल्पना गर्नै नसकिने स्थिति बन्छ । त्यसकारण यलम्बर हामी सबैका नायक हुन् । त्यसैले यलम्बरलाई फेरि एकचोटि स्थापित गर्ने जमर्को हामी सबैले गरेका छौं । तपाईहरुको मात्रै होइन, हामी सबैको जिम्मेवारी छ ।