Saturday, October 24For your kind information
Shadow

नागरिकतालाई सत्ता टिकाउने माध्यम बनाउँदै गए देश नै रहन्न (पूरा हेर्नुहोस)

काठमाण्डाै – अख्तियार दुरुपयोग अनुसन्धान आयोगका पूर्व प्रमुख सूर्यनाथ उपाध्यायले नागरिकतालाई सत्ता टिकाउने माध्यम बनाउँदै गए देश नै नरहने चेतावनी दिनुभएको छ । नागरिकता विधेयक विरुद्ध संघर्ष समन्वय समितिले शनिबार राजधानीमा गरेको छलफलमा अख्तियारका पूर्व प्रमुख उपाध्यायले राजनीतिक दलका नेताहरुले नागरिकतामा कडाइ गर्नुको सट्टा विदेशीलाई कसरी दिलाउन सकिन्छ भनी गरेका कसरत नै राष्ट्रघाती कसरत भएको टिप्पणी गर्नुभएको हो । उहाँले सत्ता टिकाउने सवालमा विदेशीलाई नेपाली नागरिकता दिने वर्षौँदेखि चल्दै आएको गलत प्रवृत्तिविरुद्ध आवाज नउठाए एकदिन मुलुकको अस्तित्व नै समाप्त हुने बताउनुभयो ।


उहाँले २०६३ सालदेखि नै विदेशीलाई नेपाली नागरिकता दिलाउने सन्दर्भमा नेताहरुले देशभित्रैबाट विभिन्न प्रपञ्च गर्ने गरेको दावी पनि गर्नुभयो । उहाँले शान्ति सम्झौतापछि बनेको नागरिकता ऐन २०६३ का आधारमा नागरिकता बाँड्ने काम नै ठूलो राष्ट्रघाती कदम भएको टिप्पणी गर्नुभयो ।
कार्यक्रममा नागरिक अगुवा साध्य बहादुर भण्डारीले संविधान संशाेधन गरेर विदेशीले नेपाली नागरिकता पाउने सम्पूर्ण प्वाल बन्द गर्नुको सट्टा सरकारले तक्मा लगाउने काम गरेको आरोप लगाउनुभयो ।


संसदको राज्यव्यवस्था समितिमा नागरिकता विधेयक सम्बन्धी छलफल चलिरहेका बेला गृहमन्त्रालयको निर्देशनमा नागरिकता वितरणको काम हुन थालेपछि यसको चौतर्फी विरोध हुँदै आएको छ ।