Saturday, October 24For your kind information
Shadow

सरकारी कर्मचारिको यती धेरै सम्पती देखेर अख्तियार पनि चकित: ९० करोड आफन्तको खातामा

काठमाडौं :

सरकारी जागिर गरिरहेको एकजना इन्जिनियरले कति सम्पत्ति कमाउन सक्ला? महिनामा सरदर ४० हजार तलब हुने एकजना इन्जिनियर करोडपति भएको देख्दा जोकोहीलाई पत्यार नलाग्ला?

तर अख्तियार दुरुपयोग अनुसन्धान आयोगले संघीय आयोजना कार्यान्वयन इकाई, विराटनगरका तत्कालीन सिनियर डिभिजनल इन्जिनियर काशीप्रसाद गुप्ताविरुद्ध पौने १७ करोड बिगोसहित भ्रष्टाचार मुद्दा चलाएको छ।

अख्तियारले गरेको अनुसन्धानका क्रममा गुप्ताले आफन्तको नाममा मात्रै १० करोडभन्दा धेरै अकुत सम्पत्ति लुकाएको पाइएको छ।

भ्रष्टाचार गरेर आर्जेको सम्पत्ति आफन्तको नाममा पनि भेटिएपछि अख्तियारले गुप्ता पत्‍नी र अन्य आफन्तलाई पनि प्रतिवादी बनाएर विशेष अदालतमा मुद्दा चलाएको हो।

अख्तियारले इन्जिनियर गुप्ता र पत्‍नी मीता गुप्ताविरुद्ध १६ करोड ७२ लाख ५६ हजार बिगो कायम गरी गैरकानुनी सम्पत्ति आर्जन (अकुत) गरेकोसम्बन्धी मुद्दा दायर गरेको हो।

अख्तियारका प्रवक्ता तारानाथ अधिकारका अनुसार गुप्ताले १२ जनाभन्दा बढी आफन्तको नाममा बैंक खाता खोली अकुत सम्पत्ति लुकाएको भेटिएको छ।

जागिरको अवधिमा गुप्ताले विभिन्‍न स्रोतबाट एक करोड ११ लाख ६९ हजार ९ सय ६२ रुपैयाँ ६३ पैसा मात्रै वैधानिक आम्दानी गरेको अधिकारीले जानकारी दिए।

आफ्नो जागिर अवधिमा गुप्ताले कमाएको अकुत सम्पत्ति गुप्ताले आफन्तहरु अन्जु कुमारी महतो, उदित नारायणप्रसाद रौनियार, चन्देश्‍वर महतो, धीरजकुमार गुप्ता, प्रीति कुमारी गुप्ता, डा. रचना प्रसाद शाह,

विकास प्रसाद गुप्ता, विनय कुमार सिंह, विभा रानी, संगीता साह रौनियार र सन्तोषकुमार गुप्ताको नाममा लुकाएको भेटिएको हो। उनले उनीहरुको खातामा मात्रै १० करोड ४४ लाख ४३ हजार रुपैयाँ लुकाएको प्रमाणित भएको प्रवक्ता अधिकारीले बताए।