Saturday, October 31For your kind information
Shadow

प्रचण्डको प्रधानमन्त्री बनाइदिने अफर मैले अस्वीकार गरेँ: रामचन्द्र पौडेल

नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले पहिलो संविधानसभाको विघटनको रात पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफूलाई प्रधानमन्त्री बन्न अफर गरेको खुलासा गरेका छन्।

 

उनले संविधानमा १० राज्यका पक्षमा सहमति जनाए प्रधानमन्त्रीमा माओवादीले समर्थन गर्ने प्रस्ताव प्रचण्डले आफूलाई गरेको खुलासा गरेका हुन् ।

 

‘बालुवाटारमा राति प्रचण्ड, तत्कालीन प्रधानमन्त्री बाबुराम भट्टराई, माधव नेपाल, झनलाथ खनाल, केपी ओली हुनुहुन्थ्यो, प्रचण्डले रामचन्द्रजी दश वटा राज्यका पक्षमा सहमति जनाउनूस्।

तपाईलाई प्रधानमन्त्री बनाउँछु भनेर प्रस्ताव गर्नुभयो,’ बीपी कोइरालाको १०७ औं जन्मजयन्तीका अवसरमा आयोजित भर्चुअल कार्यक्रममा पौडेलले भने, ‘तर मैले प्रधानमन्त्रीको कुर्सी त के, इन्द्राशन नै दिए पनि मान्दिन भनेर जवाफ दिएँ।

बालुवाटारमा सहमति नभएपछि त्यही रात तत्कालीन प्रधानमन्त्री भट्टराईले संविधान सभा विघटन गरेको पौडेलले उल्लेख गरे।

उनले संविधानका कतिपय प्रावधानमाथि पार्टीभित्रैबाट उठिरहेका प्रश्नप्रति असहमति जनाए।संविधानका एक एक अक्षरमा लडाईं भएको छ।

लोकतान्त्रिक संविधान बनाउन पार्टीकातर्फबाट प्रत्येक शब्दमा मैले बहस गरेको छु,’ उनले भने, ‘लोकतान्त्रिक संविधानको स्वामित्व हामीले लिनुपर्छ ।’