Sunday, October 25For your kind information
Shadow

प्रधानमन्त्री ओलीको आग्रह : ‘साक्षर नेपाल अभियान’ सफल पारौँ

काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीले ‘साक्षर नेपाल’ निर्माणको अभियान सफल तुल्याई साक्षरोत्तर शैक्षिक भविष्य सुनिश्चित गर्ने सफलताका लागि शुभकामना व्यक्त गर्नुभएको छ ।

 

“साक्षर तथा साक्षरोत्तर कार्यक्रमको सञ्चालनमा स्थानीय तहको भूमिका अत्यन्त महत्वपूर्ण रहन्छ र सामुदायिक अध्ययन केन्द्रको परिचालनबाट टोलटोलसम्म यी कार्यक्रम पुर्‍याउन सम्भव भएको छ”,

प्रधानमन्त्रीको सन्देशमा भनिएको छ, “अर्कातिर आर्जित ज्ञानको प्रमाणीकरण र समकक्षता निर्धारणका सन्दर्भमा भरपर्दाे पद्धति बनाउने कुरा पनि उत्तिकै महत्वपूर्ण छ ।”

नेपालको संविधान, २०७२ को अनुसूची ८ मा अनौपचारिक शिक्षा साक्षरता लगायतका विद्यालय शिक्षाको व्यवस्थापनको विषय स्थानीय तहको अधिकारक्षेत्र अन्तर्गत समावेश गरिएको छ ।

यस अनुसार स्थानीय सरकार सञ्चालन ऐन, २०७४ मा आधारभूत र माध्यमिक शिक्षा लगायत अनौपचारिक खुला तथा वैकल्पिक निरन्तर सिकाइ, विशेष शिक्षा र समुदायमा सञ्चालन हुने सिकाइका कार्यक्रम सम्वन्धी नीति, कानुन, मापदण्ड, योजना कार्यान्वयन, अनुगमन मूल्याङ्कन नियमन लगायतका कार्यहरु स्थानीय तहले गर्नेगरी तोकिएको छ ।

नेपाल सरकारले १५ वर्ष र सोभन्दा माथिको उमेर समूहका सबै नेपाली नागरिकहरुलाई न्यूनतम साक्षरताको अवसर प्रदान गर्ने र जीवन पर्यन्त सिकाइको आधार तयार गर्ने उद्देश्य राखेको छ । यसका लागि सरकारले साक्षर नेपाल वर्षको अवधारणा पत्र २०७६ स्वीकृत गरेको छ ।

शुभकामना सन्देशमा प्रधानमन्त्री ओलीले संसारसँगै हामी पनि कोभिड–१९ र त्यसबाट उत्पन्न मानवीय क्षति ब्यहोरिरहेको तथा जनता र राष्ट्रको आर्थिक तथा सामाजिक जीवनमा यसले पु¥याएको क्षतिबाट माथि उठ्ने चुनौतिकाबीच दीगो विकास सम्बन्धी अन्तर्राष्ट्रिय स्तरको लक्ष्य हासिल गर्न कामको रफ्तार बृद्धि गर्नु पर्ने जनाएका छन् ।

उहाँले अभियानको सफल कार्यान्वयनमा प्रभावकारिता, सहजता, स्पष्टता र एकरुपता ल्याउन स्थानीय तह प्रदेशलगायत सम्बन्धित निकाय, सङ्घ संस्था र सरोकारवालाको अझै सक्रिय भूमिका आवश्यक रहेकामा जोड दिनुभएको छ ।

सन्देशमा भनिएको छ, “हामी मुलुकलाई अविकाशबाट विकासतिर, विपन्नताबाट सम्पन्नतातिर, आंशिक साक्षरताबाट पूर्ण साक्षरतातिर अग्रसर गराइरहेका छौँ । यसमार्फत सम्मृद्ध नेपाल–सुखी नेपालीको राष्ट्रिय आकाङ्क्षा पूरा गर्ने सङ्कल्प छ ।”

हालसम्म ५३ जिल्ला पूर्ण साक्षर घोषणा भएसकेका छन् । आगामी दिनमा बाँकी रहेका जिल्लाको साक्षरता अभियान सञ्चालन गरी साक्षर नेपालको घोषणा गर्नेतर्फ सरकार केन्द्रित छ ।