Friday, October 30For your kind information
Shadow

जाडोमा कोरोना भाइरस धेरै समय बाँच्छ ? पूरै पढ्नुहोला

अमेरिकामा गरिएको एक नयाँ अध्ययनले चिसो बढ्दै गएपछि घर बाहिरका सतहहरूमा कोरोना भाइरस लामो समयसम्म बाँचिरहन सक्ने देखिएको छ।

 

उदाहरणका निम्ति, कुनै पदयात्रीको ज्याकेटमा कोरोना भाइरस अड्केर बसेको छ र ज्याकेट एक सातासम्मै बाहिर छ भने पनि कम तापक्रम र हावामा आद्रता घटेका अवस्थामा भाइरस जीवितै रहनेछ।

 

र, त्यसको सम्पर्कमा आउने मान्छेलाई संक्रमित बनाउने खतरा रहिरहने यो अध्ययनले देखाएको हो। जबकि, गर्मी महिनामा यही अवस्था हुन्थ्यो भने उक्त ज्याकेटमा रहेका भाइरस एकदेखि तीन दिनमै मरिसक्ने थियो।

जाडो याममा यसरी लामो समयसम्म बाँचिरहने अवस्थाले गर्दा यो भाइरसले संक्रमणको नयाँ लहर पैदा गर्ने सम्भावना कान्सास स्टेट युनिभर्सिटीको भेटेरिनरी माइक्रोबायोलोजीका प्राध्यापक योर्गन रिक्ट नेतृत्वको टिमले देखेको छ।

यसले पृथ्वीको उत्तरी गोलार्द्ध (जसमा नेपाल पनि पर्छ) मा नयाँ संक्रमण लहर ल्याउन सक्ने अनुमान अध्ययन टोलीले गरेको छ।जाडो र हावामा कम आद्रता हुने सिजनमा घरभित्रै पनि यो भाइरस अझ लामो समय बाँच्न सक्ने उनीहरूको अनुमान छ।

अध्ययनका अनुसार ढोकामा स्टिलले बनेका ह्यान्डल वा चुकुलहरूमा ८ घन्टा वा झ्यालहरूमा झन्डै १० घन्टासम्म बाँच्दै आएको यो भाइरस अब जाडो लागेपछि झन्डै दोब्बर समय ती स्थानमा बाँच्ने देखिएको छ। अर्थात् २० घन्टासम्म।

कोरोना भाइरसका कारण हुने रोग कोभिड–१९ ले अहिलेसम्म मानव जातिलाई राम्रैसँग अँठ्याउन सक्षम भइसकेको छ। अहिलेसम्म कुनै पनि मान्छेमा यो भाइरस संक्रमण हुने आधार भनेको या त संक्रमितको श्वासप्रश्वास प्रणालीबाट निस्केका छिटा (थुक, र्‍याल) हरू हुन् वा भाइरस बसेका सतहबाट हो।

साथै गर्मीमा अलि कम समय बाँच्ने यो भाइरसलाई कम तापक्रम र हावाको न्युन आद्रता अनुकूल हुने पाइएको छ। यसकारण चिसो याममा भाइरस धेरै दिन बाँच्ने र यसले संक्रमित बढाउन सक्ने सम्भावना छ।

प्राध्यापक रिक्टको टोलीले अमेरिकाको मध्यपश्चिम भेगबाट मौसमसम्बन्धी तथ्यांकहरू लिएको थियो जसका आधारमा ‘बायोसेफ्टी च्याम्बर’ भित्र कृत्रिम मौसम तयार पारेर अध्ययन गरिएको थियो।

उक्त च्याम्बरभित्र जाडो महिनामा भाइरसको अवस्था अध्ययन गर्न १३ डिग्री तापक्रम र हावामा ६६ प्रतिशत आद्रता कायम गरिएको थियो। त्यस्तैने गर्मी महिना तयार पार्न २५ डिग्री तापक्रम र हावामा ७० प्रतिशत आद्रता बनाइएको थियो।

त्यसपछि मानिसहरूले दैनिक व्यवहारमा सम्पर्क गरिरहने १२ थरि सामग्रीमा भाइरस राखेर त्यो कति समयसम्म बाँच्दो रहेछ भनेर हेरिएको थियो। ती सामग्रीहरूमा कार्डबोर्ड, ढलान, रबर, पन्जाहरू र एन-९५ मास्कसमेत थियो।

पहिले पनि महामारी बेला अध्ययन गर्ने टोलीले जति तापक्रम बढ्दै जान्छ उति वायुमा भाइरस कम बाँच्ने अनुमान गर्दै गर्मी याममा संक्रमण दर कम हुने विश्वास गरेको थियो।

त्यस्तो सोच्दासोच्दै पनि धेरैजसो भेगमा अझ विशेषगरी अमेरिका जहाँ मध्य गर्मी याममै दिनकै ८० हजारसम्म संक्रमित थपिएर हाहाकार मच्चाइदियो। यसरी गर्मीमै पनि संक्रमण वृद्धिदर उच्च भइदिँदा ‘के वास्तवमै यो संक्रमण दरलाई मौसमले कुनै प्रभाव पार्ला र?’ भन्ने प्रश्नसमेत उठेको थियो।

अमेरिकाको मध्यपश्चिम भेगको तथ्यांक लिएर गरिएको यो अध्ययनले भने अहिले स्पष्टसँग ‘भाइरस गर्मीका बेलाभन्दा जाडो महिनामा झनै लामो समयसम्म बाँच्छ’ भनेर देखाएको अध्येताहरूले प्रतिवेदनमा उल्लेख गरेका छन्।

यो परीक्षण गर्ने बेलामा जे जति वस्तुहरूमा भाइरस अध्ययन गरिएको थियो, ती सबैमा फरक तापक्रमले के प्रभाव पार्दो रहेछ भन्ने पनि हेरिएको थियो। परीक्षण गरिएकामध्ये सबभन्दा लामो समय ‘ताइभेक’ (हामीले दैनिक जीवनमा अत्यधिक प्रयोग गर्ने पहिरनदेखि फर्निचरसम्म तयार पारिने एक प्रकारको सिन्थेटिक)मा जीवित रहने देखिएको थियो।

चिसो महिनाको सुरूआतसँगै रुघामर्की जस्ता अन्य रोग पनि बढ्ने सम्भावना देखिन्छ जसले स्वास्थ्य प्रणालीलाई थप विथोल्न सक्छ। यी सब कारणले थुप्रैखाले संक्रमण थपिदिन सक्ने र बिरामीका लक्षणमा पनि वृद्धि हुने त्राससमेत भर्खरैको अध्ययनले देखाएको छ।

प्राध्यापक रिक्ट र उनका सहयोगीले आम जनसमुदायलाई सरसफाइ तथा रोग निरोधतर्फ अझ बढी ध्यान दिन अनि सम्भावित संक्रमित वस्तु वा सतह निरन्तर निर्मलीकरण गरेर भाइरसलाई बढ्न नदिन सचेत समेत गराएका छन्।

सेन्टरका निर्देशक रोबर्ट रेडफिल्डले यो अवस्थामा चार वटा उपाय परिपालन गर्न आह्वान गरेका छन्– मास्क लगाउनुस्। सामाजिक दुरी कायम गर्नुस्। हात धुनुस्। र, भिडभाडसँग टाडै रहनुस्।

यदि यसो गरिएन भने जनस्वास्थ्यका मामिलामा हामीले आजसम्मै बेहोरेकामध्ये सबभन्दा दुःखदायी पतझड मौसम यस वर्षकै साबित हुनसक्ने निर्देशक रेडफिल्डले चेतावनी दिएका छन्।