Friday, October 23For your kind information
Shadow

कोरोनाको भ्याक्सिनको विषयमा विश्वमा के हुँदैछ, नेपालले के गर्नुपर्छ ? पूरै पढ्नुहोला

कोभिड महामारीको नराम्रो पक्ष त थुप्रै छन् । राम्रो पक्षचाहिँ जुन रफ्तारमा औषधि उपचार, परीक्षण र भ्याक्सिनको विज्ञान र प्रविधिको विकास भइरहेको छ, त्यो अत्यन्तै सुखद छ ।

सामान्यतया पहिले-पहिले भ्याक्सिन बनाउन १५-२० वर्षसम्म लाग्ने गर्थ्यो । आजसम्म सबैभन्दा छिटो बनाइएको भ्याक्सिनलाई पनि ४ वर्ष लागेको थियो । अहिले भने एक वर्षभन्दा कम समयमा धेरै भ्याक्सिन परीक्षणको अन्तिम चरणमा पुगेका छन् ।

भ्याक्सिन बनाउन धेरै समय लाग्ने केही कारण छन् । कुन एन्टिजन वा प्रोटिन प्रयोग गरेर भ्याक्सिन बनाउँदा भाइरसविरुद्ध प्रभावकारी हुन्छ भनेर प्रारम्भिक अध्ययन गर्दा नै लामो समय लाग्न सक्छ ।

भ्याक्सिन बनाउन साधन र स्रोत पनि धेरै लाग्ने गर्छ । यसमा लगानी गर्न जो कोही तयार हुँदैनन् । त्यसैले जुन पायो त्यही रोगको बारेमा भ्याक्सिन बन्दैन । किनकि त्यसले उत्पादक कम्पनीलाई फाइदा हुँदैन । हाम्रो

भ्याक्सिनको प्रभावकारिता र सुरक्षाको सुनिश्चितताका लागि गर्नुपर्ने परीक्षण एकदम लामो हुने गर्छ । यसमा प्रक्रियागत र प्रशासनिक झण्झट पनि बढी हुन्छ ।

धेरै पैसा, स्रोत साधन र लामो समय लाग्ने भएकाले भ्याक्सिन निर्माण कार्य जटिल र झण्झटिलो हुन्छ । यसपटक त विश्वव्यापी महामारी भएर धेरै कम्पनीहरू भ्याक्सिन बनाउन लागिरहेका छन् । किनकि कोभिडविरुद्धको भ्याक्सिन यो महामारीको अन्त्यका लागि एउटा महत्वपूर्ण औजार हो ।

त्यसैले कोभिडविरुद्धको भ्याक्सिन बनाउन धेरै कम्पनीले अर्बौं डलर नै खन्याएका छन् । यसपटक एउटा महत्वपूर्ण फाइदा के भइदियो भने सन् २००२/०३ मा सार्स कोरोना भाइरस आएको बेला त्यसविरुद्ध भ्याक्सिन बनाउनका लागि अध्ययन भएको थियो ।

त्यसबेला नै सार्स कोरोना भाइरसको कुन प्रोटिन वा एन्टिजिन प्रयोग गरेर भ्याक्सिन बनाउँदा उपयुक्त हुन्छ होला भनेर प्रारम्भिक ज्ञान हामीलाई थाहा भइसकेको थियो । त्यही ज्ञान यसपटक काम लाग्यो र अध्ययनको लामो समय बच्यो ।

अहिले हामीलाई सार्स कोरोना २ भाइरसको कुन प्रोटिन प्रयोग गरेर भ्याक्सिन बनाउदा ठीक होला भनेर लामो अध्ययन गर्नुपर्ने भएको भए भ्याक्सिन बनाउन यति छिटो काम हुने थिएन ।

त्यसैसँग सम्बन्धित अर्को महत्वपूर्ण पक्ष के हो भने यसबीच भ्याक्सिन डिजाइन प्रविधिमा धेरै परिवर्तन आएको छ । पहिले हामीसँग भाइरसलाई मारेर या शिथिल तुल्याएर बनाइएका भ्याक्सिनहरू हुन्थे ।

अहिले आरएनए भ्याक्सिन, डीएनए भ्याक्सिन,  भाइरल भेक्टोरड भ्याक्सिन जस्ता प्रविधि विकास भएका छन् । यिनीहरू पहिले उपलब्ध थिएनन् । यी नयाँ प्रविधिको प्रयोगले निकै छिटो भ्याक्सिन डिजाइन गर्न सम्भव भएको छ ।

‘मोडर्ना’ भन्ने कम्पनीले अमेरिकाको नेसनल इन्स्टिच्युट अफ हेल्थसँग मिलेर त्यो जिन सिक्विन्स’ थाहा भएको २ महिनामा ‘भ्याक्सिन क्यान्डिडेट’ बनाएर क्लिनिकल ट्रायलमा लगिसकेको थियो । सामान्यतया वर्षौं लाग्ने यी कुरा केही हप्तामै भएको छ ।

विश्वभर के-कस्ता भ्याक्सिन निर्माणका क्रममा छन् ?

विगत ८ महिनाको अवधिभित्रमा लगभग १४० वटा भ्याक्सिनहरू परीक्षणको विभिन्न चरणमा छन् । अहिले लगभग ४७ वटा भ्याक्सिनहरू पहिलोदेखि तेस्रो चरणसम्मको ट्रायलमा छन् । तीमध्ये ३ वटा भ्याक्सिनलाई चीन र रसियाले सीमित आन्तरिक प्रयोगका लागि अनुमति नै दिइसकेका छन् ।

अहिले परीक्षणका क्रममा रहेका धेरै भ्याक्सिनले भाइरल भेक्टोरड भ्याक्सिन प्रविधिको प्रयोग गरेका छन् । बेलायतको अक्सफोर्ड, चीनको क्यानसिनो, रूसको गामलेयाले बनाएका भ्याक्सिन त्यस्तै किसिमका हुन् ।

यो प्रविधिमा अन्य कुनै भाइरसको बाहिरी खोल प्रयोग गरेर त्यसभित्र जुन भाइरसको भ्याक्सिन बनाउनुपरेको हो, त्यही भाइरसको प्रोटिन कोड गर्ने ‘जेनेटिक मेटेरियल’ छिराइन्छ र भ्याक्सिन बनाइन्छ ।

‘एडेनोभाइरस’ पनि कुनै मानिसलाई लाग्ने हुन्छन् भने कुनै जनावरलाई लाग्ने खालका हुन्छन् । यी दुवैखालमा भाइरस प्रयोग गरिएका भ्याक्सिन परीक्षणको क्रममा छन् ।

चीनको क्यानसिनो र रसियाको गामलेया इन्स्टिच्युटले बनाएको भ्याक्सिनमा मानिसमा हुने ‘एडेनोभाइरस’ प्रयोग गरिएको छ भने बेलायतको अक्सफोर्डले बनाएको भ्याक्सिनमा चिम्पान्जीमा हुने ‘एडेनोभाइरस’ प्रयोग गरिएको छ ।

अहिलेसम्म सापेक्षिक रूपले गरिएका साना अध्ययनले मानिसमा हुने ‘एडेनोभाइरस’ प्रयोग गरिएका भ्याक्सिनको प्रभावकारिता अलि कम हुन सक्ने सम्भावना देखाएका छन् । अरू भ्याक्सिनहरूमा डीएनए या आरएनएबाट बनेका भ्याक्सिनहरू पनि परीक्ष‌‌णको क्रममा छन् ।

हुन त यो प्रविधि प्रयोग गरेर अहिलेसम्म सफल भ्याक्सिन बनाइएको छैन । तर, यो प्रविधि सफल भयो भने छिटोछिटो भ्याक्सिन बनाउन निकै मद्दत पुग्नेछ । यद्यपि अहिलेसम्म प्राप्त प्रमाणअनुसार यस्ता भ्याक्सिनलाई माइनस ८० ड्रिग्रीमा स्टोर गर्नुपर्छ ।

यस्तै, अर्को ‘प्रोटिन‍‍‍‍ वेस्ड भ्याक्सिन’ पनि परीक्ष‌‌णको क्रममा छ । नोभाभ्याक्स भन्ने कम्पनीले बनाएको यो भ्याक्सिनमा  भाइरसको ‘स्पाइक प्रोटिन’ लिएर त्यसको आकार परिवर्तन गरिन्छ र त्यो प्रोटिनको साथसाथै प्रतिरोधात्मक क्षमता बढाउन सहायक वस्तु ‘एयाड्जुभन्ट’ पनि थपेर भ्याक्सिन बनाइन्छ ।

पहिलेदेखि चलिआएको  ‘इनएक्टिभेटेड भ्याक्सिन’ प्रविधि प्रयोग गरेर पनि धेरै कम्पनीहरूले भ्याक्सिन बनाउँदै छन् । भारत बायोटेक, चीनको सिनोफार्म र सिनोभ्याक कम्पनीले बनाएका भ्याक्सिन यस्तै प्रकारका हुन् ।

यी भ्याक्सिनको राम्रो पक्ष के छ भने यो प्रविधि हामीले पहिलेदेखि जानेको र प्रयोग गरिरहेको प्रविधि हो । हामीलाई यसको फाइदा बेफाइदाका बारेमा थाहा छ । यसको उत्पादनबारे पनि हामीलाई राम्रो अनुभव छ ।

भ्याक्सिनको परीक्ष‌‌ण कसरी गरिन्छ ?

एउटा भ्याक्सिन डिजाइन गरिसकेपछि पहिले जनावरहरूमा परीक्षण गरिन्छ । प्रि-क्लिनिकल चर‌णको यस्तो अध्ययनले मानिसमा परीक्षण गर्नुअघि भ्याक्सिन सुरक्षित र प्रभावकारी छ कि छैन भनेर देखाउँछ ।

सामान्यतया तीन चरणमा गरिने यस्तो क्लिनिकल ट्रायलको पहिलो चरणमा एक सय जति कुनै रोग र अरू कुनै जोखिम नभएका व्यक्तिमा भ्याक्सिन सुरक्षित छ कि छैन भनेर जाँच गरिन्छ ।

भ्याक्सिन दिएको केही हप्तादेखि महिनासम्म साइड इफेक्ट भए नभएको मिहीन ढङ्गले हेरेर गरिने त्यो परीक्षण सफल भएपछि हजारको हाराहारी संख्या व्यक्तिमा दोस्रो चरणको परीक्षणमा गर्ने गरिन्छ ।

यो चरणको परीक्षणमा भ्याक्सिन दिएपछि ‘एन्टिबडी’ उत्पादन भयो कि भएन, कति मात्रामा उत्पादन भयो, उत्पादित एन्टिबडीले भाइरसलाई निष्क्रिय बनाउन सक्यो कि सकेन भनेर भ्याक्सिनको प्रभावकारिताको जाँच गरिन्छ ।

दशौं हजार मानिसमा गरिने यस्तो परीक्षणमा सहभागीलाई गोलाप्रथाबाट समान प्रकृतिका दुई समूहमा विभाजन गरिन्छ र एक समूहलाई भ्याक्सिन दिइन्छ भने अर्को समूहलाई भ्याक्सिन नभएको सुई अर्थात् प्लेसिबो दिइन्छ ।

अमेरिकाको एफडीएले जारी गरेको निर्देशिकाअनुसार भ्याक्सिनलाई आम मानिसमा प्रयोग गर्ने अनुमति दिनुअघि भ्याक्सिन दिइएको समूहका व्यक्तिमा अर्को समूहका व्यक्तिमा भन्दा ५० प्रतिशत कम संक्रमण भएको अध्ययनले प्रमाणित गर्नुपर्नेछ ।

भ्याक्सिन कहिलेसम्म आउला ?

अहिले परीक्षणको अग्रपङ्तिमा रहेको भ्याक्सिन मे वा जून महिनातिरबाटै केही हजार व्यक्तिमा परीक्षण सुरु भइसकेको थियो । साथै, सार्वजनिक गरिएको तालिकाअनुसार अक्टोबर महिनाको अन्त्यतिरसम्म आवश्यक संख्यामा तेस्रो चरणको परीक्षण हुने देखिन्छ ।

त्यसको कम्तिमा एक महिनासम्म भ्याक्सिनको प्रभावकारिता हेर्नुपर्नेछ । त्यतिन्जेल कम्तिमा तीन हजार व्यक्तिमा चाहिने साइड इफेक्टको विवरण पनि तयार हुनेछ । यी सबै तथ्याङ्क जम्मा गरेर नियामक निकायमा पेश गर्दा सन् २०२० को अन्त्यसम्म पुग्ने देखिन्छ ।

पेश गरिएको तथ्याङ्क तथा विवरणले उक्त भ्याक्सिन सुरक्षित र प्रभावकारी देखिएमा यो वर्षको अन्त्य या सन् २०२१ को सुरुवातमा भ्याक्सिनको आमप्रयोगका लागि अनुमति दिइने अनुमान गर्न सकिन्छ ।

अथवा विज्ञानभन्दा बाहिर गएर भ्याक्सिनको आम प्रयोगका लागि अनुमति दिइयो भने यहाँ अनुमान गरेभन्दा अगावै पनि भ्याक्सिन आउन सक्छ । तर, सम्पूर्ण प्रक्रिया नपुर्‍याई त्यसो गर्नुको नतिजा सुखद् नहुन पनि सक्छ ।

भ्याक्सिन कहिले आउने भन्ने कुरा अहिले आशाको कुरा हो । पहिलो चरणको क्लिनिकल ट्रायलमा गरिएका भ्याक्सिनहरूमध्ये लगभग ६ देखि १० प्रतिशत मात्र सफल हुने गर्छन् । त्यसमाथि कोभिड विरुद्धको प्रतिकार्यमा भ्याक्सिन धेरै औजारमध्येको एउटा विकल्प मात्र हो ।

नेपालले भ्याक्सिन प्राप्त गर्न के–के पहल गर्नुपर्छ ?

नेपालले भ्याक्सिन ल्याउन सक्ने स्रोत २ वटा छन् । एउटा विश्व स्वास्थ्य संगठन लगायतले खडा गरेको कोभ्याक्स भनिने विश्वव्यापी संयन्त्र छ । त्यसले विश्वका १७२ वटाभन्दा बढी देशलाई सर्वसुलभरूपमा भ्याक्सिन उपलब्ध गराउन खोज्दैछ ।

लगभग ८० जति धनी देशहरूसँग पैसा लिएर कोषमा राख्ने र बाँकी ९२ वटा देश, जसले पैसा तिर्न सक्दैनन्, उनीहरूलाई अनुदान/सहुलियतमा भ्याक्सिन दिने भनिएको छ । नेपालले पनि त्यसैमा सहभागी हुने इच्छा सम्वद्ध निकायलाई जनाइसकेको छ ।

कोभ्याक्सको राम्रो पक्ष के छ भने त्यो सबैलै सामूहिकरूपमा गरेको प्रयास हो । अहिले जम्मा गरेको पैसा भ्याक्सिनसम्बन्धी अनुसन्धान र उत्पादनमा लगाइएको छ । त्यसले एउटामात्र भ्याक्सिनको पछि नलागेर थुप्रै भ्याक्सिनलाई सपोर्ट गरिरहेको छ ।

अफ्ठ्यारो के छ भने त्यो संयन्त्रले कम्तिमा पनि २ अर्ब मानिसलाई भ्याक्सिन पुर्‍याउने भनिएको छ । त्यो भनेको एकदमै ठूलो सङ्ख्या हो । त्यसका लागि पैसा पनि धेरै लाग्छ, जुन अहिलेसम्म सुनिश्चित भइसकेको छैन ।

भ्याक्सिनको अर्को स्रोत हाम्रा छिमेकी देशहरू हुन सक्छन् । संसारका सबैभन्दा ठूला भ्याक्सिन उत्पादकहरू भारतमा छन् । जसले डिजाइन गरे पनि आखिर धेरै भ्याक्सिन भारतमै उत्पादन हुने हुन् ।

मैले बुझेसम्म बंगलादेशको एउटा फर्मास्युटिकल कम्पनीले भारतको एउटा भ्याक्सिन उत्पादकलाई भ्याक्सिन उत्पादन हुनेबित्तिकै पाउने गरी सम्झौता गरेको छ । नेपाललाई पनि त्यसै गर्दा सजिलो हुने देखिएको छ ।

हुन त हामीले चाहेर पनि उत्पादकले चाहने कि नचाहने भन्ने कुरो पनि महत्वपूर्ण छ । पहल गर्दैगर्दा थोरै मात्र भ्याक्सिन भए पनि छिटो ल्याउन सकियो भने अग्रपङ्क्तिमा खटिने स्वास्थ्यकर्मी/ सुरक्षाकर्मीलाई पुग्ला ।

यसका साथै भ्याक्सिन उपलब्ध भएमा यसको वितरण कसरी गर्ने भनेर पूर्वतयारी गर्नु पनि उत्तिकै जरुरी छ ।