Monday, October 26For your kind information
Shadow

दुखमा केपी ओलिको साथ दिएका बामदेव गौतमले उनै बाट पाए ठुलो धोका

नेकपा उपाध्यक्ष वामदेव गौतमले राष्ट्रिय सभामा आफूलाई पठाउने निर्णय कार्यान्वयनको पक्षमा आवाज उठाएपछि उक्त पार्टीभित्र र राष्ट्रिय राजनीति फेरि तरङ्गित बनेको छ।

 

गौतम उनै नेता हुन् जसले राखेको छबुँदे प्रस्तावपछि नेकपाभित्रको लामो र गम्भीर विवादको समाधान खोज्न कार्यदल बन्यो र त्यसले प्रस्तुत गरेको प्रतिवेदनपछि त्यो सुल्झिने सम्भावना देखा परेको थियो।

 

केपी शर्मा ओलीमाथि प्रधानमन्त्री वा पार्टी अध्यक्षमध्ये एउटा पद छाड्नै पर्ने परेको दबाव त्यससँगै टरेको हो। त्यसमाथि औपचारिक छलफल नहुँदै गौतमले आफूलाई राष्ट्रिय सभाको सदस्य बनाउने गत फागनु १४ गतेको सचिवालयको बैठकको निर्णय लागु हुनुपर्ने माग फेरि अघि सारेका छन्।

तर त्यसको “गुन तिर्न छाडेर” ओलीले धोका मात्र दिएको गौतम निकटस्थहरूको बुझाइ पाइन्छ। पछिल्लो प्रकरणलाई पनि उनीहरूले त्यसैसँग जोडेर हेर्छन्। तत्कालीन नेकपा एमालेका अध्यक्ष झलनाथ खनाललाई संसदीय दलको नेतामा परास्त गर्न ओलीलाई गौतमले साथ दिएका थिए।

दशकौँदेखि नेता गौतमसँग राजनीतिक रूपले निकट पूर्वमन्त्री हरि पराजुली काठमाण्डूको गौशालामा त्यस बेला भएको केन्द्रीय नेता र अगुवा कार्यकर्ताहरूको भेलामा एक जना अध्यक्ष र एक जना प्रधानमन्त्री बन्ने घोषणा ओलीले गरेको बताउँछन्। उनले भने, “त्यो कुनै गोप्य कुरा होइन, सार्वजनिक कुरा हो।”

स्थानीय निर्वाचनअघि तत्कालीन माओवादी र एमालेबीच खटपट पर्दा गौतमले मध्यस्थता गरे र बजेटपछि ओलीले प्रचण्डलाई सत्ता हस्तान्तरण गर्ने सहमति बन्यो। तर त्यो कार्यान्वयन नभएपछि माओवादीले नेपाली कांग्रेसको समर्थनमा गठबन्धन सरकार बनायो।

अर्का एक नेताका भनाइमा गौतमले त्यस बेला ओलीलाई प्रस्ताव राखेका थिएः “तपाईँले प्रचण्डलाई नदिने हो भने म माओवादीसँग कुरा गर्छ, तपाईँले मलाई प्रधानमन्त्रीमा साथ दिनूस्।” उनले सुनाए, “तर ओलीले मानेनन्, नत्र वामदेव गौतमको नेतृत्वको सरकारले चुनाव गराउँथ्यो।”

चुनावमा हराउन पार्टीभित्रैबाट झेल भएको गौतमको बुझाइ छ। चुनाव हारेपछि पुनर्निर्माण प्राधिकरणलाई शक्तिशाली बनाएर उपप्रधानमन्त्रीसरहको हैसियतमा त्यसको जिम्मेवारी लिने इच्छा गौतमको थियो। तर उनले ओलीको साथ पाएनन्।