Friday, October 23For your kind information
Shadow

कार्यक्षेत्रमा खट्दा संक्रमित भएँ, तर मनोबल उच्च छ : मेयर शाक्य

काठमाडौँ महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यले कोरोनालाई परास्त गरी छिट्टै जनताको सेवामा समर्पित हुने विश्वास व्यक्त गरेका छन् । एक विज्ञप्ति जारी गर्दै प्रमुख शाक्यले भनेका छन्,‘तपाईँहरुको निरन्तरको साथ, सहयोग, समर्थन र मप्रति देखाउनु भएको सद्भावले मलाई थप ऊर्जा प्राप्त भएको छ।

उनले उच्च सावधानी अपनाउँदै कोभिड–१९ को नियन्त्रण र व्यवस्थापनसँगै कोरोनाको कहरबाट काठमाडौँ र उपत्यकावासीलाई जोगाउने अभिप्रायका साथ अहोरात्र कार्यक्षेत्रमा खटिरहेको अवस्थामा आफूलाई संक्रमण पुष्टि भएको बताएका छन् । नेपालमा हरेक दिन कोरोना संक्रमितको संख्यामा वृद्धि हुँदै गैरहेको छ ।

संघीय राजधानी काठमाडौँ उपत्यका र काठमाडौँ महानगरपालिकामा समेत संक्रमितको संख्या दिनहुँ बढिरहेको छ,’ उनले भनेका छन्, ।विज्ञप्तिमा भदौ १४ गते आइतबार उनको धर्मपत्नीलाई एक सय डिग्री भन्दा बढी ज्वरो देखिएको र दुबै जना नियमित परीक्षणका लागि ग्रान्डी अस्पताल पुगेर परीक्षण गर्ने क्रममा कोरोना पोजेटिभ देखिएको पनि उनले उल्लेख गरेका छन् ।

उनले कोरोनाको रिपोर्ट पोजेटिभ आए पनि मनोबल उच्च रहेको र अहिलेसम्म कुनै पनि लक्षण नदेखिएको जानकारी गराएका छन् । ‘मेरो स्वास्थ्य अवस्था सामान्य छ। अहिले म र मेरो परिवार होम आइसोलेसनमा स्वास्थ्य मापदण्डको पूर्ण पालनासहित बसिरेहको जानकारी गराउन चाहन्छु,’

विज्ञप्तिमै भन्नुभएको छ, ‘जनताको कामलाई सर्वोपरि ठानी निरन्तर समर्पित हुने सिलसिलामै म संक्रमित भएको छु ।होम आइसोलेसनमा रहे पनि काठमाडौँ महानगपालिकाका जनप्रतिनिधि र कर्मचारीसँग निरन्तर समन्वयमा रहेर कोरोना रोकथाम र नियन्त्रणको प्रयासमा निरन्तर लाग्ने प्रतिवद्धता व्यक्त गर्न चाहन्छु ।’

उनले विज्ञप्तिमार्फत लकडाउनको सुरुको अवस्थादेखि अहिले जारी निषधाज्ञासम्म काठमाडौँवासी र सेवाग्राहीको सेवामा घरपरिवार र जीवनको समेत प्रवाह नगरी कठिन अवस्थामा पनि अहोरात्र खटिरहनु भएका जनप्रतिनिधि र कर्मचारीप्रति सम्मान व्योफ गरेका छन् ।

उनले कोरोना जस्तो अदृष्य शत्रुसँगको लडाईँ एक्ला–एक्लै जित्न नसकिने भन्दै आ–आफ्नो ठाउँबाट एकमुष्ठ प्रयास गरी कोरोनालाई परास्त गर्न अपिल पनि गरेका छन्। ‘स्वास्थ्य मापदण्डलाई पूर्ण पालना गर्न र संक्रमित भनेर कसैलाई कसैले दुर्व्यवहार नगर्न पनि विनयपूर्वक आग्रह गर्दछु,’ उनले भनेका छन् ।