Monday, September 21For your kind information
Shadow

नेपाललाई उज्यालो बनाउने कुलमान घिसिङ्गको कार्यकाल सकिँदै: अब नयाँ आउनेले यस्तै राम्रो काम गर्लान त ?

नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङको कार्यकाल यही भदौ २९ गते सकिँदैछ । उनी आउनुअघि देशले दैनिक १८ घण्टासम्म लोडसेडिङ खेप्नु परेको थियो । लोडसेडिङको सास्ती खेपेका नेपालीहरु माझ घिसिङले वाहवाही कमाएका छन् ।

ऊर्जा क्षेत्रको सिस्टम उनले जति अरुले नबुझेको र ऊर्जा क्षेत्रकै विकासका लागि उनी दोहोरिनुपर्ने मत एकातर्फ बलियो छ भने अर्कोतर्फ एउटै व्यक्ति दोहोरिरहनुपर्ने आवश्यकता नभएको भन्ने मत पनि छ । अहिले प्राधिकरण भित्र र बाहिर कुलमानलाई निरन्तरता दिने कि नयाँ ल्याउने भन्ने बहस शुरु हुन थालेको छ ।

केहीले वर्तमान ऊर्जामन्त्री वर्षमान पुनको पालामा उनको पुनरागमनको सम्भावना न्युन रहेको पनि भनिरहेका छन् । यद्यपि, प्राधिकरणको कार्यकारी निर्देशकको नियुक्त मन्त्रिपरिषद्को निर्णयबाट हुने हो । घिसिङलाई तत्कालीन ऊर्जामन्त्री जनार्दन शर्माले प्राधिकरणमा ल्याएका थिए ।

तत्कालीन माओवादीले घिसिङलाई नियुक्त गरेको भएपनि साविकको माओवादीभित्र पनि विभिन्न गुट उपगुट हावी रहेकाले आफू निकटका व्यक्ति ल्याउन चर्को लबिङ भइरहेको बताइन्छ । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री वर्षमान पुनले घिसिङलाई निरन्तरता दिन नसकिने भन्दै आफू निकटहरुसँग घिसिङको विकल्प खोज्नुपर्ने बताउन थालेका छन् ।

लोडसेडिङ अन्त्य गर्न र विद्युत उत्पादनमा सक्षम देखिएपनि अहिले प्राधिकरणको कार्यकारी निर्देशकमा घिसिङको विकल्पमा विद्युत विकास विभागका महानिर्देशक नविनराज सिंहको नाम समेत चर्चामा ल्याइएको छ । ऊर्जामन्त्री पुनले घिसिङको ठाउँमा विभागका सिंह ल्याउने तयारी गरेको स्रोत बताउँछ । यता प्राधिकरणकै उपकार्यकारी निर्देशक शेर सिंह भाटको नाम पनि चर्चामा आउन थालेको छ । यसैगरी केहीले पुनर्निर्माण प्राधिकरणका सुशील ज्ञवालीको नाम पनि चर्चा गर्न थालेका छन् ।