Thursday, October 22For your kind information
Shadow

कांग्रेस नेतृत्वबाट देउवा र पौडेललाई बिदा गरिनु पर्छ : सभापतिले के तमासा गर्न खोजेका हुन

काठमाडौं प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसको आगामी फागुन ७–१० गते काठमाडौंमा हुने १४ औं महाधिवेशनले नयाँ नेतृत्व चयन गर्ने भएपनि नेताहरु शक्तिको जोडघटाउमा लागेका छन् । साउनको सुरुवातसँगै महाधिवेशन प्रयोजनार्थ पार्टीको क्रियाशील सदस्यता वितरण र नविकरणको काम पनि सुरु भएकाले आफ्नो पक्षकालाई क्रियाशील सदस्यता दिने,

नविकरण गरिदिने, क्षेत्रीय प्रतिनिधि, जिल्ला प्रतिनिधि र केन्द्रीय प्रतिनिधिमा आफ्ना मान्छेलाई कसरी ल्याउने भन्नेमा नेताहरुको ध्यान केन्द्रित भएको पाइन्छ । अझ महाधिवेशनको मुखैमा अर्को पार्टीबाट नेता, कार्यकर्ता र समूहलाई नै प्रवेश बनाएर आफ्नो समूह बलियो बनाउने ध्याउन्नमा पनि नेताहरु लागेको देखिन्छ ।

मुख्यतया कांग्रेसमा परम्परागतजस्तै देखिएको दुई समूह छ । एउटा संस्थापन जसको नेतृत्व सभापति शेरबहादुर देउवाले गरिरहेका छन्, अर्को पूर्वसंस्थापन जसको नेतृत्व नेता रामचन्द्र पौडेलले गरिरहेका छन् । दुवै समूहको नेतृत्व गरिरहेका नेताहरु उमेरले ७५ काटेका छन् ।

नेपालीको उमेरको लेखाजोखा गर्ने हो भने उनीहरु अब घरमा बस्ने र नाती नातिना खेलाउने समय हो । मिठो मसिनो खाने समय हो । तर, मुलुकको पुरानो र लोकतान्त्रिक पार्टीको नेतृत्वमा रहेर राइदाई गरिरहेका छन् । ताकी विपक्षीले यसले आगामी निर्वाचनमा के रणनीति बनाएर अगाडी बढ्छ, बुझ्न नसकोस ।

जनताले आफूहरुको पक्षमा काम गर्छ भनेर विश्वास गरुन । १४ औं महाधिवेशनको प्रक्रियाको सुरुवाती चरण सुरु भएकाले देउवा र पौडेललाई अभिभावक बनाउने गरी कांग्रेसका युवा नेता र कार्यकर्ताले सोच्नु पर्ने बेला भएको छ । पहिलाबाटै थाहा नपाउने गरी रणनीति बनायो भने मात्रै नेतृत्वतहका दशकदेखि जरा गाडेका उनीहरुलाई हटाउन सकिन्छ ।

अन्तिममा बनाएको रणनीतिले उनीहरुलाई हटाउन गाह्रो पर्छ । क्रियाशील सदस्यता वितरण, नविकरण, इकाई प्रतिनिधि, क्षेत्रीय प्रतिनिधि, महाधिवेशन प्रतिनिधि, इकाइ, क्षेत्र र जिल्लामा नेतृत्वसहित पदाधिकारी, प्रदेश प्रतिनिधि, नेतृत्व र पदाधिकारी र केन्द्रमा पदाधिकारी र सदस्यमा युवा र नयाँ ल्याउने रणनीति बनाउने बेला यही हो ।

बुढा र पुरानालाई अभिभावक बनाउने गरी रणनीति अख्तियार गर्ने र अंकगणित पनि त्यसकैका आधारमा निर्माण गर्ने बेला यही हो । यस विषयमा कांग्रेसलाई पुरानो अवस्थामा फर्केको हेर्न चाहनेहरुले सोच्ने र कदम चाल्ने बेला आएको छ । यदी अहिलेको महाधिवेशनबाट पनि देउवा र पौडेलले नै नेतृत्व तहमा बस्ने अवसर पाए भने कांग्रेस उभो होइन, उधो गतिमा जाने निश्चित छ ।

त्यो २०७४ सालमा भएको निर्वाचन र त्यसपछि उनीहरुले गरिरहेका गतिविधिले प्रष्ट पारिसकेका छन् । केपी शर्मा ओली नेतृत्वको सहज बहुमतको सरकारले गरेका संविधान, नियम र कानुन विपरितका निर्णयमा सडक र सदनमा चर्को आवाज उठाउनु पर्नेमा भागवण्डा खोजेर सरकारकै निर्णयमा मौन समर्थन जनाउने नेतृत्वबाट कांग्रेस उभो लाग्न सक्दैन ।

कांग्रेसमा अब त्यस्तो नेतृत्व चाहिएको छ । सरकारले संविधान, कानुन र नियम विपरित काम गरेमा सडकमा आगो बालोस, सदनको वेल घेरोस । त्यसका लागि महाधिवेशनबाट देउवा र पौडेललाई नेतृत्वबाट गलहत्याउनै पर्छ । गलहत्याउन रणनीति बनाउने बेला आइसकेको छ । बेलैमा सोच बिचार गरेर अगाडी बढ्नु पर्ने टटकारो आवश्यकता छ ।