Monday, October 26For your kind information
Shadow

सभापति देउवाको विभाग गठनप्रति वरिष्ठ नेता पौडेलको आपत्ति

आसन्न महाधिवेशनलाई प्रभावित बनाउन पार्टीका विभागमा नियुक्ति भइरहेको भन्दै कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षले आपत्ति जनाउनु भएको छ । विधानको व्यवस्था र आचारसंहिता विपरीत पार्टीका विभिन्न विभागमा नियुक्ति गरिएको भन्दै कांग्रेस पौडेल पक्षले आपत्ति जनाएको हो ।

पौडेल, महामन्त्री सशांक कोइराला र कोषाध्यक्ष सीतादेवी यादवले निर्वाचन समितिलाई सम्बोधन गर्दै बिहीबार संयुक्त हस्ताक्षरसहितको पत्र निर्वाचन समितिलाई बुझाएका छन् ।
नेता पौडेल पक्षधरले सभापति देउवालाई बोधार्थ पठाइएको पत्रमा विभागहरुमा भइरहेका नियुक्ति तत्काल रोक्न र यसअघि भइसकेकाहरुको बदर गर्न माग समेत गरेको छ ।

पार्टी विधानमा सबै तहमा गठन गर्ने भनिएका विभाग, समिति, विभिन्न निकायहरु महाधिवेशन सम्पन्न भएको ६ महिनाभित्र गठन गरिसक्नुपर्ने व्यवस्था रहेको भएपनि सभापति देउवाले हाल आएर विभागहरु नियुक्त गरेको भन्दै आपत्ति जनाएको हो ।

१३ औं महाधिवशेनबाट सभापति निर्वाचित भएका देउवाले यी काम ६ महिनाभित्रै पूरा गर्नुपर्ने थियो । तर, उहाँले कार्यकाल सकिएपछि विभागहरुमा नियुक्ति गरिरहनु भएको छ । पौडेल पक्षले विरोध गरेपछि उहाँले आफ्ना समूहका सदस्यहरुलाई राखेर एकलौटी रुपमा विभाग गठन गर्नु भएको हो । अहिले विभाग प्रमुखहरुले सदस्यहरु नियुक्ति गर्न थालेपछि पौडेल पक्ष झस्केको हो ।

एउटा विभागमा ५० जना सदस्य राख्न पाउने व्यवस्था छ । यसले ठूलो संख्यामा कार्यकर्ता प्रभावित पार्न सकिने ठान्दै संस्थापन पक्षले एकपक्षीय रुपमा विभागलाई पूर्णता दिनेतिर जान थालेपछि पौडेल पक्षले सार्वजनिक रुपमा विरोध सुरु गरेको हो ।