Saturday, October 31For your kind information
Shadow

प्रधानमन्त्री ओली भन्छन देशको सार्वभौमसत्ता र भौगोलिक अखण्डता अक्षुण्ण राख्न दृढ अडानमा छु

काठमाडौं, २६ असार । प्रधानमन्त्री केपी शर्मा ओलीले आम नेपालीहरुका बीच आपसी एकता बढाउन, संघीय लोकतान्त्रिक गणतन्त्रको रक्षा गर्न, राष्ट्रिय स्वाभिमान उचो बनाउन, देशको सार्वभौमसत्ता र भौगोलिक अखण्डता अक्षुण्ण राख्न आफ्नो तर्फबाट दृढ अडान र हदैसम्मको प्रयास हुने बताउनु भएको छ ।

बाढी, पहिरो, प्राकृतिक विपद् र कोरोना नियन्त्रण सम्बन्धमा शुक्रबार साँझ देशवासीको नाममा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले यतिबेला आन्तरिक विमति वा समस्यामा अल्झिएर जनताको जीवन रक्षाको दायित्वबाट विमुख बन्न कसैले पनि नमिल्ने पनि प्रष्ट पार्नु भयो ।

सम्बोधनको क्रममा उहाँले अगाडि भन्नुभयो, ‘मैले पहिले पनि भनेको छु, रोग र भोकबाट देशबासीलाई जोगाउने दायित्वबाट सरकार कुनै हालतमा पनि पछि हट्दैन, त्यसैले मेरो र मैले नेतृत्व गरेको सरकारको सारा ध्यान र संम्पूर्ण प्रयाश महामारी र विपत्तिमा परेका नागरिकको जिउधनको रक्षामा केन्द्रित छ ।’

अहिले कतिपय राजनीतिक विषय र सन्दर्भहरुप्रति जनताको ध्यान अवश्य तानिएको छ भन्दै उहाँले महामारी र प्राकृतिक विपत्तीको समयमा पनि राजनीतिक बहस किन भन्ने प्रश्नहरु पनि उठ्नु अन्यथा नभएको पनि सम्बोधनमा उल्लेख गनु भएको छ ।

जुनसुकै राजनीतिक दलभित्र हुने बहस र विवाद आन्तरिक हुन् भन्दै उहाँले त्यसलाई निष्कर्षमा पु-याउने दायित्व सम्बन्धित राजनीतिक दल र नेताहरुकै भएको पनि प्रष्ट पार्नुभयो ।

सम्बोधनको क्रममा प्रधानमन्त्री ओलीले भन्नुभयो ‘गत जेठ ३१ देखि असार २६ गतेसम्म देशका ११ जिल्ला बाढी÷पहिरोबाट प्रभावित भएका छन् । हालसम्म पर्वत, बझाङ, गुल्मी, लमजुङ, कास्की, रुकुम पश्चिम, जाजरकोट र दोलखा गरी आठ जिल्लामा पहिरोले क्षति पु-याएको छ ।

सिन्धुपाल्चोक, तनहुँ र म्याग्दी तीन जिल्लाले भीषण बाढी र पहिरोका कारण क्षति व्यहोर्नु परेको छ । यस क्रममा ३५ जनाले ज्यानै गुमाउनु परेको छ, ३२ जना घाइते भएका छन् र ३४ जना अझै बेपत्ता छन् । एक सय घर क्षतिग्रस्त बनेका छन्, ३०१ परिवार विस्थापित हुनुपरेको छ ।

सरकारले बाढी तथा पहिरोबाट प्रभावितहरुको उद्दारमा आवश्यक सुरक्षाकर्मीहरु परिचालित गरिसकेको छ । संघीय, प्रदेश र जिल्लास्थित विपद् समितिबाट राहत प्रदान गरिएको छ र प्रभावितहरुलाई जोखिममुक्त स्थानमा स्थानान्तरण गर्नेसमेत व्यवस्था मिलाइएको छ ।’

बाढी पहिरो, भूक्षय, आगजनी, चट्याङ, भूकम्प जस्ता विभिन्न खालका प्राकृतिक विपत्तीको नेपाल सँधै उच्च जोखिममा रहेको चर्चा गर्दै उहाँले नेपालका जुनसुकै भूभागमा आइपर्ने यस्ता संकट र समस्यामा सरकार आफ्ना नागरिकको साथमा रहँदै आएको पनि प्रष्ट पार्नुभयो ।

सम्बोधनको क्रममा प्रधानमन्त्री ओलीले अगाडि भन्नुभयो ‘यस्तो प्राकृतिक विपत्तिप्रति सजग रहँदै अत्यावश्यक उद्दार, सहयोग र उपचारमा ध्यान दिइरहेको बेला हामी विश्वव्यापी कोरोना महामारीको नियन्त्रण, उपचार र रोकथामको लामो प्रयाशमा रहेको तथ्यलाई पनि भुल्नु हुँदैन ।

विश्वका विभिन्न मुलुकहरुमा झैं हामीकहाँ पनि कोरोना महामारीको संकट हटिसकेको छैन । कोरोनाको रोकथाम, नियन्त्रण र उपचारमा करिब चार महिनादेखि हामी सम्पूर्ण रुपमा केन्द्रित रहेका छौं । र, कोरोनाको असर एवं त्यसबाट अर्थतन्त्रमा आइपरेको प्रभावलाई व्यवस्थापन र पुनरुत्थानमा लागिपरेका छौं ।’

उहाँले लकडाउनलाई केही खुकुलो पारेसँगै संक्रमणको धेरै जोखिम राजधानी उपत्यकातर्फ बढिरहेको उल्लेख गर्दै गत असार ९ देखि २४ गतेका बीच मात्रै उपत्यकामा संक्रमितहरुको संख्यामा उल्लेख्य बृद्धि भएको बताउनु भयो ।

यही कारण पनि सबैमा थप गम्भीरता, अनुशासन र सचेतनता आवश्यक रहेको पनि प्रधानमन्त्रीको भनाइ थियो ।