Friday, October 23For your kind information
Shadow

आजको छलफल सकारात्मक भएको दावी, दुई अध्यक्षबीचको छलफल सकियो

नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को आन्तरिक विवाद समाधान गर्न बालुवाटारमा भएको दुई अध्यक्षबीचको छलफल थप छलफल आवश्यक भएको निष्कर्ष निकाल्दै टुंगिएको छ । प्रधानमन्त्री समेत रहनुभएका अध्यक्ष केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीचको आजको बैठक यस अगाडिको तुलनामा भने केही सकारात्मक भएको बालुवाटार स्रोतको दावी छ । वालुवाटारमा २ घण्टा लामो भएको दुई अध्यक्षहरुको छलफलमा नेताहरुमा देखिएका अविश्वास, भ्रम र हल्लाहरुबारे एक अर्कामा प्रष्ट पार्ने काम भएको एक नेताले न्यूज २४ लाई बताउनुभयो ।

दुई अध्यक्षले अहिलेको परिस्थितिमा चलेको हल्ला र वास्तविकता छुट्याउन एक अर्कामा तत्पर हुनुपर्ने जस्ता कुराहरु भएको ती नेताको भनाइ छ । जारी स्थायी कमिटीको बैठक पटक पटक स्थगित गर्दै दुई अध्यक्षले सहयोगीसहित वार्ता गरिरहनु भएको छ । तर अब आवश्यक परे ‘वान टु वान ’ वार्ता गर्न पनि उहाँहरु तयार हुनु भएको बताइएको छ । यसअघि ३ पटकसम्म छलफल गर्दापनि सहमति हुन नसकेपछि पार्टीमा चर्किएको विभाजनको हल्ला झनै बलियो बन्न पुगेको थियो ।

प्रधानमन्त्री आँफैले पनि पार्टी विभाजनको संकेत गर्नुभएको थियो । तर नेकपाका मध्यस्तरका नेताहरु दुई अध्यक्षलाई मनाएर सहमतिमा पुग्दै पार्टी एकता कायम गर्ने पक्षमा छन् । पार्टी स्थायी कमिटीको जारी बैठकमा प्रधानमन्त्री ओलीको कदमप्रति बिरोध भैरहेको छ ।

अध्यक्ष प्रचण्डसहित वरिष्ठ नेताहरु माधव नेपाल र झलनाथ खनालेले पनि ओलीको काम कारवाही प्रति असन्तुष्टि जनाउदै पार्टी अध्यक्ष र प्रधानमन्त्री दुवै पदबाट राजीनामा दिनुपर्ने माग राख्नुभएको थियो । प्रधानमन्त्री ओली सचिवालय र स्थायी कमिटी दुवैमा अल्पमतमा पर्नु भएको छ । आज बस्ने भनिएको स्थायी कमिटी बैठक २४ गतेका लागि सारिएको छ ।