Monday, October 26For your kind information
Shadow

वृद्दाश्राममा भएकी हजुराआमा र नातिनिको पहिलो भेट: ठुली भैसकेकी नातिनिलाई देख्दा आँसु थामिएन

केही दिनयता भारतीय सञ्चारमाध्यम तथा नेपालका सामाजिक सञ्जालमा पनि भाइरल भइरहेको यो तस्बिरमा एक बालिका र वृद्धा रोइरहेका देखिन्छ ।विश्व फोटो पत्रकार दिवसका दिनदेखि भारतीय सञ्चारमाध्यम र सामाजिक सञ्जालमा भाइरल भएको यो तस्बिरलाई अहिले नेपालीले पनि सामाजिक सञ्जालमा भाइरल बनाइरहेका छन् ।

तस्बिरलाई विभिन्न कथा बनाउँदै सामाजिक सञ्जालमा पाेष्ट गरिएकाे छ। खासमा यो तस्बिर सन् २००७ मै भारतको गुजरातका एकजना फोटो पत्रकारले खिचेका हुन् ।सामाजिक सञ्जालमा पाेष्ट गरिएको यो तस्बिरमा लेखिएको छ, ‘एक स्कुलले आफ्नो बच्चाहरुलाई वृद्धाश्रमको भ्रमण गरायाे।त्यही क्रममा भ्रमणमा रहेकी बालिकाले वृद्धाश्रममा आफ्नी हजुरआमालाई भेटिन् ।’

यो फोटोको कथा यतिमै सकिँदैन । ‘खासमा जब यी बालिकाले आफ्ना माता-पितासँग हजुरआमाबारे साेधिन् तब उनीहरुले नातेदारलाई भेट्न गएको जवाफ दिए ।यो समाज कस्तो किसिमको बन्दैछ, कसरी अघि बढ्दैछ ? नेपाली र भारतीयको लवाखवाइ तथा छालाको रंगसमेत मिल्ने भएकाले धेरैले यो तस्बिरलाई नेपालकै मानेर पनि सेयर गरिरहेका छन् ।

यतिमात्रै होइन यो तस्बिरको वास्तविकतामै नपुगी दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवाल र क्रिकेटर हरभजन सिंहले समेत यो फोटोलाई फेसबुक र ट्विटरमा सेयर गरेका छन् ।तस्बिरको सत्य के हो ? तस्बिरसँगै लेखिएको कुरा वास्तवमै सत्य हो त ? यसकाे जवाफ भारतका एकजना वरिष्ठ फोटो पत्रकार कल्पित भचेचले बीबीसीलाई बताएका छन् । खासमा यो तस्बिर कल्पितले ११ वर्षअघि सन् २००७ मा खिचेका थिए ।

स्वयम् कल्पितले यस तस्बिर र यसको पछाडिको घटनाबारेमा बीबीसीलाई बताएका छन् । कल्पितको बयान त्यो दिन सन् २०१०७ १२ सेप्टेम्बर थियो, मेरो जन्मदिन भन्दा एक दिन अघि । म बिहानै नौ बजे घरबाट निस्केको थिएँ । त्यस दिन पत्नीले राति छिटै घर आउन भनेकी थिइन् । किनकी भोलिपल्ट मेरो जन्म दिन थियो, पत्नीले राति १२ बजे मेरो जन्म दिनको केक काट्ने कुरा बताएकी थिइन् ।

पत्नीले त्यति भनेपछि म धेरै खुसी भएर घरबाट हिँडेको थिएँ । केही बेरमै मलाई मेरो मोबाइलमा अहमदाबादको मणिनगरस्थित जिएनसी स्कुलबाट फोन आयो । फोन स्कुलका प्रिन्सिपल रिटा बहन पन्ड्याको थियो । उनले आफ्ना विद्यार्थी लिएर वृद्धाश्रम जान लागेको बताइन् । उनले त्यही क्रममा मलाई पनि आफूसँगै जान आग्रह गरिन् ।

त्यसपछि म तयार भएर घरबाट निस्केर सीधै घोडासरमा रहेको मणिलाल गान्धी वृद्धाश्रम पुगेँ । त्यहाँ एकातर्फ विद्यार्थी थिए भने अर्कातर्फ वृद्धवृद्धा थिए । त्यसपछि मैले राम्रो तस्बिर लिनका लागि विद्यार्थी र वृद्धवृद्धालाई एकै ठाउँमा राख्न आग्रह गरेँ । मैले त्यति भनेपछि विद्यार्थी उभिएका मात्र के थिए त्यही बेला एक बालिका वृद्ध महिलालाई देखेर क्वाँ क्वाँ रुन थालिन् ।

अर्को अचम्त त के थियो भने बालिकालाई देखेर ती वृद्धा पनि उसै गरेर क्वाँ क्वाँ रुन थालिन् । त्यही बेला बालिकाले दौडेर वृद्ध महिलालाई अंगालो हालिन् । यो दृश्य देखेर त्यहाँ उपस्थित कयौँ मान्छे पनि चकित परे । मैले त्यही बेलाको तस्बिर धमाधम क्यामेरामा कैद गरेँ । त्यसपछि मैले तत्कालै गएर रोइरहेकी वृद्धालाई सोधेँ, ‘तपाईँ किन रुनु भयो ?, उनले भनिन्, ‘हामी दुई हजुरआमा-नातिनी हौँ ।’

बालिकाले पनि रुँदै ती वृद्धा आफ्नी ‘बा’ हजुरआमा भएको बताइन् । गुजरातीमा हजुरआमालाई बा भनेर बोलाइन्छ । बालिकाले त्यही क्रममा हजुरआमाबिना आफ्नो जिन्दगी धेरै शून्य भएको बताइन् । बालिकाले त्यही क्रममा आफ्ना बाबुले उनकी हजुरआमा नाताकहाँ गएको जवाफ दिएर ढाँटेको पनि बताइन् । तर जब उनी वृद्धाश्रम पुगिन् तब उनलाई थाहा भयो हजुरआमा साँच्चिकै कहाँ गएकी रहिछन् ।

हजुरआमा नातिनीको मिलन देखेर त्यहाँ जम्मा भएका अन्य मानिसका पनि आँखा रसाए । त्यसपछि त्यो माहोललाई शान्त बनाउन केही विद्यार्थीले भजन गाउन सुरु गरे। यो तस्बिरलाई त्यसको भोलिपल्ट नै दिव्य भास्कर दैनिकले पहिलो पृष्ठमा छापेको थियो । त्यही बेलादेखि यो फोटोबारेमा गुजरातमा चर्चा सुरु भएको थियो ।

यस तस्बिरले कयौँ मानिसको मनमा भुइँचालो ल्याउन सफल भएको छ।मेरो ३० वर्षको करिअरमा पहिलो पटक फोटो छापिएपछि मलाई मानिसहरुले हजारौँ फोन गरे । त्यो बेलामा पुरै राज्यमा यस तस्बिरको चर्चा भएको थियो । तर जब म दोस्रो दिन अन्य पत्रकारसहित उनको अन्तर्वार्ता लिन पुगेँ, तब उनले मलाई आफू आफ्नो राजीखुसीले घर छाडेर वृद्धाश्रम आएको जवाफ दिइन् ।