Sunday, October 25For your kind information
Shadow

बलिउड र हलिउडमा गएर हैन नेपाली सिनेमा लाई नै माथी उठाउँछु: स्वस्तिमा खड्का

स्कूले जीवनमा आफ्ना साथीहरुलाई ‘दर्शक’ बनाएर गुरूहरूको क्यारिकेचर गर्दा स्वस्तिमा खड्कालाई लागेको थिएन कि, कुनै दिन उनी नायिका बन्नेछिन् । बन्छु भन्ने लागेको भए उनले शायदै इन्जिनियरिङ पढ्ने थिइन् । हुन त उनले परिवारको इच्छाले इन्जिनियरिङ पढेकी थिइन् अभिनय गर्न सक्ने रहेछु भन्ने त स्वस्तिमालाई उतिबेलै लागेको थियो । तर नायिका बन्छु भन्ने लागेको थिएन । स्वस्तिमाले बरु ‘एअर होस्टेज’ बन्छु भनेर उनी साथीहरुलाई सुनाउने गर्थिन् ।

कलाकारिताको दुनियाँ आफूले कल्पना गरेको भन्दा धेरै पर थियो ।कलाकारिता क्षेत्रमा उनका कोही आफन्त पनि थिएनन्, त्यसैले त उनले कुनै दिन नायिका बन्छु भन्ने नै सोचिनन् । समयले भने स्वस्तिमाको करिअरको बाटो फिल्मी क्षेत्रतिरै कोरिदियो । निश्चल बस्नेतले निर्देशन गरेको फिल्म ‘लूट’ हेर्न ‘कलेज बंक’ गरेर हल पुगेको उनको मानस्पटलमा ताजै छ । साथीहरुसँग फिल्म हेरिन्, राम्रो लाग्यो । फिल्मका निर्देशक निश्चल बस्नेतलाई त उनले चिनेकी पनि थिइनन् ।हलमा फिल्म हेर्न जाने दर्शकले निर्देशक को होला ? भनेर खासै मतलब ‍गर्दैनन् ।

स्वस्तिमाले पनि गरिनन् ।‘त्यतिबेला म फिल्म क्षेत्रमा आएकै थिइनँ, फिल्म क्षेत्रमा त्यति धेरै चासो पनि थिएन, त्यसैले होला निर्देशक को हो भन्ने नै ख्याल गरिएन,’ उनी सुनाउँछिन् । घरकी एक्ली छोरी । सामान्य परिवार । बुबा आर्मीमा जागीरे । दुई दाजुभाइ थिए । स्वस्तिमा भक्तपुरको सैनिक आवासीय महाविद्यालयमा पढ्थिन् । स्कूले समयदेखि नै उनको स्वभाव निडर थियो । कसैले हेप्यो कि, फ्याट्ट बोलिहाल्थिन् । कुनै केटाले आफ्ना साथीलाई हेप्यो भने साथीहरु उनलाई भन्न आउँथे । सबै मिलेर केटाको समूहलाई थर्काउँथे । सात वर्षको उमेरदेखि नै सैनिक स्कूलकी विद्यार्थी बनेकी स्वस्तिमा शिक्षकहरुको मिमिक्री गर्न खप्पिस थिइन् ।‘एकदम नर्मल मान्छेको हो भने त सकिँदैन, नत्र मैले त्यतिबेला नै क्यारिकेचर गर्थेँ,’ उनले हाँस्दै सुनाइन् ।

थापाथली इन्जिनियरिङ क्याप्पसमा इन्जिनियरिङ पढ्न भर्ना भएकी स्वस्तिमाले तेस्रो वर्ष पुग्दा ‘मिस टीन’मा भाग लिएकी थिइन् । ‘उत्कृष्ट ५ मा परेपछि मलाई पनि धेरैले नोटिस गर्नुभएछ, फेरि हाम्रोमा नयाँ नायिका खोज्ने प्रवृत्ति पनि त छ नि,’ उनले सुनाइन् ।दुई म्युजिक भिडियोमा अभिनय गरिसक्दा उनलाई लागेको थियो, म पनि म्युजिक भिडियो खेलेँ, अब सबैले चिन्छन् । कतिले त उनलाई म्यासेज पनि गर्थे, ‘म तपाईंको डाइहार्ट फ्यान हुँ ।’